चार अर्ब लगानीमा उत्पादन दोब्बर बनाउँदै निम्बस

सुजन अाेली नेपालमा उत्पादित कृषिजन्य वस्तु (मकै, गहुँ, धान, तोरी) भण्डारण गर्न निम्बसले वीरगन्ज, भैरहवा र विराटनगरमा गोदामघर स्थापना गर्ने तयारी पनि गरेको छ ।

पशुपन्छीको दानामा अग्रणी निम्बस होल्डिङ्सले एक वर्षभित्र आफ्नो सम्पूर्ण उत्पादन दोब्बर बनाउने भएको छ । ११ वर्षको अवधिमा पशुपन्छीको दानामा २५ प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीले चार अर्ब रुपैयाँ लगानीमा उत्पादन दोब्बर बनाउन लागेको हो ।

आर्थिक वर्ष २०७४/७५ भित्र आफूसँग भएका उत्पादनको क्षमता दोब्बर तथा नयाँ उत्पादन पनि बजारमा ल्याउने निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाले जानकारी दिए । कम्पनीसँग हाल पशुपक्षीको दाना, माछाको दाना, सोयाबिन तेल, तोरीको तेल, सोयाबिनलगायत उत्पादन छन् । ती उत्पादनको क्षमता दोब्बर बनाउने र धानको भुसबाट तेल उत्पादन गर्ने योजना ल्याएको हो ।

 

हालसम्म कम्पनीको वीरगन्जमा भएको उद्योगबाट दाना, खाने तेल, सोयाबिनलगायत वस्तु उत्पादन हुँदै आएको छ । ती सबै उत्पादनको क्षमता बढाएर कम्पनीले दोब्बर पु¥याउँदै छ । सनफ्लावर तेलको क्षमता बढाएर दैनिक एक सय टन पु¥याउने योजना छ । हाल कम्पनीले दैनिक ५० टन सनफ्लावर तेल उत्पादन गर्दै आएको छ । त्यसैगरी पशुपन्छीको दानाको उत्पादन पनि दोब्बरभन्दा बढी पु¥याउने योजना छ । हाल कम्पनीले प्रतिमहिना ९ हजार टन दाना उत्पादन गरेर बजारमा पठाउँदै आएको छ । अबदेखि २० हजार टन प्रतिमहिना उत्पादन गर्ने बगरियाले जानकारी दिए ।
त्यसैगरी कम्पनीले दाल उत्पादन पनि प्रतिमहिना २ हजार ५ सय टन पु¥याउने भएको छ । यो कम्पनीको नयाँ उत्पादन हो । त्यसैगरी निम्बसकै हेटौंडामा रहेको केमिकल उद्योग क्षेत्रभित्र पनि नयाँ उत्पादन सुरु गर्ने भएको छ । कम्पनीले नयाँ उद्योग स्थापना गरेर इमल्सन उत्पादन गर्ने भएको हो । इमल्सन पेन्ट्स बनाउन आवश्यक पर्ने एक प्रकारको कच्चापदार्थ हो ।

कम्पनीले इमल्सन प्लान्ट लगाउन एक अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले प्रतिमहिना ५ सय टन इमल्सन उत्पादन गर्ने योजना बनाएको छ । हाल बजारमा मासिक १ हजार २ सय टन इमल्सनको माग रहेको निम्बसका प्याक्ट्री म्यानेजर शैलेश लामिछानेले जानकारी दिए । पशुपन्छीसँग सम्बन्धित उद्योग मात्र नभई अन्य उद्योग पनि सञ्चालनको तयारीमा रहेको कम्पनीका प्रबन्ध निर्देशक बगरियाका बताए ।

 

पशुपन्छीलाई चाहिने कुखुराको दानाबाट व्यवसाय सुरु भए पनि हाल विभिन्न उत्पादन भइरहेको छ । जनावरका आहार, भटमासलगायतका वस्तुबाट तेल निकाल्ने र पिनालाई जनावरको आहार बनाउने चक्रीय उत्पादन गर्ने निम्बस नेपालको पहिलो कम्पनी भएको बगरियाको दाबी छ । भटमासबाट ब्रान्डेड तेल उत्पादन, तोरीको तेलको उत्पादन अहिले बजारमा आइरहेको छ । उनका अनुसार कृषिमा लगानीको अथाह सम्भावना हुँदाहुँदै पनि प्रशोधन उद्योग लगानी बढ्न नसकेको हो । नेपालमा उत्पादित कृषिजन्य वस्तु (मकै, गहुँ, धान, तोरी) भण्डारण गर्न निम्बसले वीरगन्ज, भैरहवा र विराटनगरमा गोदामघर स्थापना गर्ने तयारी पनि गरेको छ ।

 

सन् १९९८ मा स्थापना भएको उद्योगमा हालसम्म आठ सयभन्दा बढी कर्मचारीले रोजगारी पाएका छन् । त्यसैगरी कम्पनीले वार्षिक ७ अर्ब रुपैयाँको कारोबार गर्दै आएको छ । कम्पनीले निम्बस होल्डिङ्स प्रालिको भ्रातृ संस्था प्रोबायोटेक इन्डस्ट्रिजले एफसीजी तथा पशुका लागि दाना उत्पादन गर्दै आएको छ । त्यसैगरी प्रोजियोकेम उद्योगअन्तर्गत औषधि उत्पादन गर्दै आएको छ । कम्पनीले आगामी सन् २०३० सम्ममा ४० अर्ब रुपैयाँको कारोबार गर्ने लक्ष्यसहित ठूलो लगानी गरिरहेको छ । सन् २०१८ सम्ममा कम्पनीले ७ अर्ब रुपैयाँको कारोबार गर्दै आएको छ ।