news archive

रसायन उद्योगमा १ अर्ब लगानी थप्दै निम्बस

Spread the love

 

सेतोपाटी संवाददाता

हेटौडा, माघ ७

निम्बसले रंगरोगनमा प्रयोग हुने पेन्ट उद्योगलाई आवस्यक पर्ने रसायन उत्पादन गर्न १ अर्ब लागनीमा नयाँ प्लान्ट स्थापना गर्ने भएको छ। हेटौडामा रहेको विभिन्न प्रकारका रसायन उत्पादन गर्दै आएको एकमात्र उद्योगले इमल्सन नामको रसायन उत्पादनमा करिब एक अर्ब लगानीमा नयाँ प्लान्ट स्थापनाको प्रक्रिया अगाडि बढाइएको फ्याक्ट्री इन्चार्ज शैलेश लामिछानेले जानकारी दिए।

इमल्सन प्लान्टको लागि मेशिन अर्डर भइसकेको र अवको ४ महिनामा उत्पादन सुरु हुने उनको दावी छ। पेन्ट उद्योगलाई चाहिने रसयानसँगै ड्रम, अन्य केमिकल पनि उत्पादन गरिरहेको उक्त उद्योगमा महिनामा ५ सय टन उत्पादन हुने छ। महिनामा एक हजार टनको माग भएपनि सबै विदेशबाटै आयात हुँदै आएको छ।

हाल पेन्ट उद्योगमै चाहिने एल्काइट नामको रसायन महिनामा ५ सय टन नै उत्पादन गरिरहेको लामिछानेले जानकारी दिए।

‘अहिले हामीले उत्पादन गरेको रसयान विभिन्न पेन्ट उद्योगले लिइरहेका छन्’ उनले भने, ‘त्यही मागलाई मध्यनजर गर्दै इमल्सन पनि उत्पादन गर्ने निष्कर्षमा पुगेका हौ।’

नेपाली पेन्ट उद्योगलाई आवस्यक सबै रसयान उत्पादन गर्ने लक्ष्य भएपनि कच्चा पदार्थ र फिनिश वस्तु आयातको भन्सार दर एउटै भएका कारण कठिन भएको उनको भनाई छ।
गैर रसायनमा उत्पादनमा १ अर्ब लगानी थप हुँदै 
हाल एक अर्ब लगानीमा तीनप्रकारका रसायन,फ्याब्रीक झोला र ड्रम उत्पादन गर्दै आएको निम्बसको हेटौडा उद्योगमा प्रत्यक्ष रुपमा ८० जना रोजगार छन्।

चालु आर्थिक वर्षभित्रै उक्त उद्योगले इमल्सन बाहेकका अन्य उत्पादनमा १ अर्ब लगानी थप गर्ने बताएको छ।

पेन्ट राख्ने बकेट,बाल्टी तथा कुखुरा पालनमा आवस्यक साधनको उत्पादन प्लान्टमा करिब १ अर्ब लगानी हुने लामिछानेले जानकारी दिए।
नेपालमा अहिले पनि पेन्ट बकेट निर्माण भइरहेको भएपनि ५० प्रतिशत विदेशबाट आयात भइरहेको छ। त्यही ग्याप पुरा गर्न उत्पादन गर्न लागिएको उद्योगको भनाइ छ।

नेपालमा अहिले विशेषगरी बहुराष्ट्रिय कम्पनीहरुले विदेशबाटै बकेट आयात गरिरहेका छन्। चाहेजस्तो नेपालमा नपाइने भएकोले उनीहरुको आकर्षण विदेशतिर रहेको छ।

अहिले पनि ड्रम उत्पादनको प्लान्ट निम्बसको छ तर त्यसमा थप प्लान्ट लगाएर बकेट निर्माण थालनी गर्ने र यसको लागि ५० करोड आवस्यक हुने लामिछानेको भनाइ छ।

कच्चा पदार्थको अभावमा डिओपीको प्लान्ट बन्द गरिदै

पेन्ट उद्योग बाहेक अगरबत्तीजस्तै उत्पादनमा आवस्यक पर्ने रसयान डिइपी नामको रसयान पूर्ण क्षमतामा चलानउन नसकेको उद्योगले जुत्ता,कार्पेट उद्योगमा चाहिने रसायन डिओपीको प्लान्ट भने बन्द गर्ने भएको छ।

विदेशमै उत्पादन भएको तयारी रसायनको आयातमा भन्दा कच्चा पदार्थमा भन्सार दर बढी भएकोले बन्द गर्ने अवस्थामा पुगिएको लामिछानेले बताए।

अहिले त्यस्तै प्रकृतिका तयारी रसायन नेपाल ल्याउँदा ५ प्रतिशत भन्सरा शुल्क लाग्ने भएपनि कच्चा पदार्थमा १५ देखि २० प्रतिशत लाग्ने गरेको उनले बताए।

‘महिनामा करिब ४ सय टन क्षमताको प्लान्ट हामी बन्द गर्दै छौ’ उनले भने,‘करिब ८० करोड लागनीमा स्थापना भएको यो प्लान्टबाट हामी उत्पादन गर्नैनसक्ने अवस्थामा छौ।’